
काठमाडौं । महाधिवेशनको संघारमा रहेको नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ ।
स्रोतकाका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन प्रस्ताव लगिदैछ । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान लिदै आएको छ ।
यसले सचिवालय बैठक पेचिलो बन्ने सम्भावना देखिएको छ । अझ पोखरेलले राखेको दस्तावेजमाथि छलफल नगर्ने संस्थापनको तयारीले पनि सचिवालय बैठकमा नेताहरुको चासो छ ।
एमाले महाधिवेशन २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सकिनेछ ।


