२०८२ मंसिर २६ शुक्रवार , ०२:४२:१० बजे

Sajhamanch
'

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । नेकपा (एमाले)को भोलिदेखि शुरू हुने ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्ने एमालेको तयारी छ ।

महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण महाधिवेशनस्थलमा चहलपहल बढेको छ । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन्

ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको भल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको छ ।

उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्य राखिएका छन् । उद्घाटनका दिन करिब तीन लाख व्यक्ति बस्न मिल्ने व्यवस्था गर्न लागिएको एमालेले जनाएको छ ।

यसैबीच एमाले सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने एमालेले जनाएको छ ।

पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने गरी विधान संशोधन गर्ने तयारी भएको हो । वरिष्ठ उपाध्यक्षको पद पुनः ब्युँताउने, उपाध्यक्ष र सचिवको संख्या सात–सात राखेर पुरानै १९ सदस्यीय पदाधिकारी पुर्याउने, अहिले प्रस्तावित २५१ सदस्यीय केन्द्रीय कमिटी ३०१ तथा स्थायी समिति ४५ सदस्यीय राख्ने गरी तयारी भएको छ ।

सम्बन्धित खबर