२०८२ मंसिर २५ बिहिवार , १०:२८:५७ बजे

Sajhamanch
'

भद्रपुरमा जेसीज सप्ताह सुरु, ढेना बस्तीका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

बिहिवार, मंसिर २५, २०८२

भद्रपुर । झापाको भद्रपुरमा जेसीज सप्ताह सुरु भएको छ । भद्रपुर जेसीजले भद्रपुर–१० स्थित ढेना बस्तीका विपन्न बालबालिकाहरुलाई शैक्षिक तथा खेल सामग्री हस्तान्तरण गर्दै आज बिहीबारदेखि जेसीज सप्ताह सुरु गरेको हो ।

सन्थाल लगायतका आदिवासी समुदायको बाक्लो बसोबास रहेको सो बस्तीलाई भद्रपुर जेसीजले विगतमा ‘जेसीज गाउँ’ नामाकरण गरी विभिन्न अवसरहरुमा आवश्यक सहयोग पुर्याउँदै आएको छ । त्यहाँका अधिकांश अभिभावकहरु स्थानीय चिया बगानमा मजदूरी गर्दछन् भने बालबालिकाहरु स्थानीय सामुदायिक विद्यालयमा पढ्छन् ।

भद्रपुर जेसीजका अध्यक्ष शैलेस श्रेष्ठको अध्यक्षता एवम् कार्यक्रम संयोजक कुशल न्यौपानेको संयोजकत्वमा आयोजित समारोहमा प्रमुख अतिथि भद्रपुर जेसीजका पूर्व अध्यक्ष डिल्लीराम पोखरेलले जेसीज सप्ताह उद्घाटन गरेका थिए ।

भद्रपुर नगरपालिका, वडा नं १० का पूर्व वडा सदस्य भक्तबहादुर भुजेलसमेतको आतिथ्यता रहेको कार्यक्रममा जेसीजका निवर्तमान अध्यक्ष टिकाराम पाण्डे, भद्रपुर जुनियर जेसीजका अध्यक्ष सनम सशांकर लगायतको सहभागिता थियो ।

समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पोखरेलले भद्रपुर जेसीजले वर्षेनि विभिन्न किसिमका सामाजिक तथा चेतनामूलक गतिविधि गर्दै आएको बताउँदै ढेना वस्तीलाई जेसीजले अपनत्व ग्रहण गरेर विभिन्न किसिमका सहयोग गर्दै आएको जानकारी दिए ।

खिलानाथ पाण्डे ‘निकाश’को अध्यक्षकालमा सो वस्तीलाई भद्रपुर जेसीजले ‘जेसीज गाउँ’ घोषणा गरेको थियो ।

भद्रपुर जेसीजका महासचिव हेडम्बराज निरौलाले सञ्चालन गरेको समारोहमा जेसीज सप्ताह मूल आयोजक समितिका संयोजक निरप्रसाद अधिकारीले जेसीज सप्ताह बारे प्रकाश पारेका थिए भने समारोहमा जेसीज आस्था वाचन गरिएको थियो ।

आजै अपरान्ह भद्रपुर ५ स्थित मेची पूलमा लागुऔषध विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको महासचिव निरौलाले जानकारी दिए ।

जेसीज सप्ताहअन्तर्गत शुक्रबार ‘युवासँग जेसीज’ शीर्षकमा तालिम र सडक सचेतना कार्यक्रम अन्तर्गत जेब्रा क्रसिङ बनाउने, शनिबार भद्रपुर २ सगरमाथामा रक्तदान कार्यक्रम गर्ने, आइतबार बिहान मेची रंगशालामा प्रेस क्लव भद्रपुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने र पुस १ गते बृहत कार्यक्रमका साथ जेसीज सप्ताह समापन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर