२०८२ मंसिर २५ बिहिवार , ०३:५०:५३ बजे

Sajhamanch
'

एमालेको ११ औँ महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । नेकपा (एमाले)ले ११ औँ महाधिवेशनका लागि विभिन्न १६ वटा राजनीतिक दललाई निम्ता दिएको छ ।

भक्तपुरमा हुने उद्घाटन समारोहमा शुभकामना दिन १६ दललाई निम्ता दिइएको विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बर्तौलाले महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाइएको पनि स्पष्ट पार्नुभयो ।

भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामना पत्र पठाउन भनिएको उहॉंले जानकारी दिनुभयो ।

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताउनुभयो ।

लाखौँको सङ्ख्यामा नेता, कार्यकर्ताहरू महाधिवेशनका लागि काठमाडौँ आउने क्रम जारी रहेको र असंवैधानिक क्रियाकलाप गर्ने, अलोकतान्त्रिक ढङ्गबाट मुलुक लैजान खोज्ने तत्त्वहरूलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताउनुभयो।

महाधिवेशनमा १०८ जना मनोनीत सहित २ हजार २६८ कुल प्रतिनिधि रहने छन् । बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल सम्पन्न गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बर्तौलाले बताउनुभयो।

उहॉंले नेकपा एमालेले युवाहरूलाई महत्त्वपूर्ण स्थान दिने बताउनुभयो । १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानुनी वैधानिक सुनिश्चितता गरिएको बताउनुभयो ।

एमालेको ११ औँ महाधिवेशन मङ्सिरको २७ गतेबाट २९ सम्म काठमाडौँमा सुरु हुँदैछ ।

सम्बन्धित खबर