
झापा । टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार झापाका तीनजना पत्रकारलाई आज प्रदान गरिएको छ ।
अन्तरर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पुरस्कार प्रदान गरेको हो ।
टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकार इन्दु पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जीवी घिमिरे पुरस्कृत भएका हुन् ।
उनीहरुलाई प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले नगद र सम्मान पत्र प्रदान गरे ।
हेम सरिता फाउन्डेसन अमेरिकासँगको सहकार्यमा भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवर्धनको क्षेत्रमा कलम चलाउने र पत्रकारिता मार्फत सुशासनका लागि महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई हरेक वर्ष ५० हजार ५५५ रुपैयाँ राशिको पुरस्कार वितरण गर्दै आएको छ ।
महासंघले यसवर्षको ५० हजार ५५५ रुपैयाँ राशिको पुरस्कारबाट चिरञ्जीवी घिमिरेलाई सम्मान गरेको हो । गत २०८१ को पुरस्कार संयुक्तरुपमा इन्द्र पूर्वेली र सुरेन्द्र भण्डारीलाई प्रदान गरियो । उनीहरुले २५ हजार २२५ रुपैयाँका दरले रकम प्राप्त गरेको जनाइएको छ ।
यसअघि सो पुरस्कारबाट राजबाबु शङ्कर पुरस्कृत भएका थिए । पुरस्कारका लागि पाँच लाख पाँच हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष महासंघले पुरस्कार वितरण गर्दै आएको हो।
यसैगरी लैङ्गिक हिंसा विरुद्ध कलम चलाएको भन्दै जोस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई महासंघले नगद पाँच हजारका दरले पुरस्कृत गरेको छ ।
सो कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि डा. आचार्यले प्रेस जगतप्रति उच्च सम्मान रहेका बताए । उनले आफू विकृति विसंगति विरुद्ध लड्न आएको बताउँदै काउन्सिलमा रहेर कसैको दवावमा गलत काम नगर्ने प्रतिवद्धता जनाए । काउन्सिलको नियम बमोजिम पत्रकारिता क्षेत्रको हितमा रहेर योगदान गर्ने उनको योजना रहेको धारणा व्यक्त गरे ।
प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकारहरुले आचारसंहिता पालनालाई ख्याल गर्न आग्रह गरे । पत्रकारहरुले आचारसंहिता कार्यान्वयन नगरे मिडिया क्षेत्र नै प्रभावित हुने उनको भनाई थियो ।
पत्रकारले नै मिडिया क्षेत्र जोगाउने हो, उनले भने– मिडिया क्षेत्रमा कतैबाट खतरा छ भने पत्रकारबाटै खतरा छ ।
भुसालले काउन्सिलको कार्यक्षेत्रबाट प्रदान हुने कुनै पनि सेवाका लागि सधैव सहजीकरण गर्न तयार रहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, पुरस्कृत पत्रकार घिमिरे लगायतले धारणा राखेका थिए ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुव्रत न्यौपानेले शाब्दिक स्वागत गरेका थिए भने सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।


