
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेको बताउनुभएको छ ।
सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र नागरिकहरुमा शुभकामना व्यक्त गर्दै उहाँले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, सवैको हितको रक्षा गर्न र नागरिकको आकांक्षा पूरा गर्न सकिने उल्लेख गर्नुभएको छ ।
झन्डै चार दशकअघि संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एशियाको कल्पना गरेको उहाँको भनाइ छ । प्रधानमन्त्री कार्कीले गएको वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्त्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताउनुभएको छ ।
खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता समयका जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने, साझा क्षेत्रीय पहिचानलाई पोषित गर्ने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उहाँले उल्लेख गर्नुभएको छ ।


