
काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गरेको छ । यसअघि प्रतिक्विन्टल ५८५ रुपैयाँ रहेको मूल्यमा सरकारले ३५ रुपैयाँ बढाएको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उखु किसानलाई प्रदान हुँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको लागत संरचना अध्ययन गरी प्रतिक्विन्टल लागत मूल्य ४३७ रुपैयाँ, ढुवानी ८१ रुपैयाँ, र किसानको नाफा १०२ रुपैयाँ गणना गरी न्यूनतम समर्थन मूल्य ६२० रुपैयाँ निर्धारण गर्न मंसिर १७ गते मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
गएको वर्षको अन्तिमतिर सरकारले श्रोत अभाव देखाउँदै किसानलाई दिँदै आएको ७० रुपैयाँमध्ये ३५ रुपैयाँ अनुदान कटौती गरेको थियो । सरकारको यो निर्णयप्रति किसानहरूले विरोध गर्दै पुरानै ७० रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने माग गर्दै आएका थिए ।
यसपटक सरकारले किसानको माग सम्बोधन गर्दै पुरानै अनुदान रकमलाई निरन्तरता दिएको हो । सरकारले किसानलाई उपलब्ध गराउँने अनुदान रकम सीधै किसानको बैंक खातामा राख्ने गरिएको छ ।


