
मुस्ताङ । बेनी–जोमसोम–कोरला सडक आयोजनामा अहिलेसम्म १३ पुल निर्माण सम्पन्न भएका छन् । मुस्ताङको उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको यो सडकमा तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् ।
भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३/७४ सालदेखि शुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गएको वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ ।
आयोजना अन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका तीन पुलको ठेक्का सम्झौता तोडिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिनुभयो ।
उहाँका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को रुप्सेखोला, थासाङ गाउँपालिका–४ को खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको हो ।
पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायतका कारणले ठेक्का सम्झौता तोडिएको इन्जिनियर चापागाईँको भनाइ छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले अहिलेसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टेखोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ ।
त्यसैगरी, आयोजनाअन्तर्गत मुस्ताङ खण्डको थासाङ–३ को लेतेखोला, सेतोखोला पुल, थासाङ–२ को छाक्ताङ खोला, घरपझोङ–२ को मार्फाखोला पुल, घरपझोङ–३ को स्याङखोला पुल, पान्डाखोला पुल, वारागुङ–३ को छुसाङ नरसिंह खोला, लोघेकर–१ को चराङखोला पुल सम्पन्न भइसकेको जनाएको छ ।
त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेका छन् ।


