
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन उद्घाटको दिनलाई जनताको आवाज बुलन्द गर्ने दिनका रुपमा लिनुपर्ने बताउनु भएको छ ।
पार्टीको महाधिवेशन जनपरिचालन समितिको संयोजकसमेत रहनु भएका ज्ञवालीले राजनीतिक पार्टीहरु कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरुले लिन खोज्ने भएकोले दलहरुले सक्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने बताउनु भएको हो ।
‘११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टी परिवारका लागि त सबैभन्दा ठूलो उत्सव हो नै लोकतन्त्रका पक्षमा जनताको आवाजको प्रतिध्वनी पनि हो’ सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उपमहासचिव ज्ञवालीले लेख्नु भएको छ, ‘राजनीतिक पार्टीहरु कमजोर वा शिथिल हुँदा त्यसको रिक्तताको ठाउँ अराजक शक्तिहरुले लिन खोज्छन् ।’

प्रदीप ज्ञवाली
उपमहासचिव ज्ञवालीले २०६२ मंसिर ४ गते बुटवलमा लामो समयपछि भएको नेकपा एमालेको विशाल जनप्रदर्शनले देशब्यापी रुपमा प्रतिगमन विरुद्ध आन्दोलनको माहोल ल्याएको स्मरण गर्नुभएको छ । शाही कु पछि त्यसबेला दलहरुले ठूला आमसभा गर्न नसकिरहेका बेला बुटवलमा एमालेले मंसिर ४ मा गरेको आमसभामा लुम्बिनीका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए ।
सोही आमसभापछि देशैभरी शाही कु विरुद्ध दलहरुले आयोजना गरेका कार्यक्रममा मानिसहरुको उपस्थिति बाक्लो हुन थालेको थियो । ज्ञवालीले उक्त आमसभालाई शाही कु विरुद्धको जगको संज्ञा दिनुभएको छ । ‘२०६२ मंसिर ४ गते एमलेले बुटवलमा गरेको सशक्त जनप्रर्दशनले माघ १९ को शाही कु पश्चात उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको थियो’ ज्ञवालीले लेख्नु भएको छ ।
उहाँले मंसिर २७ को एमालेको महाधिवेशन उद्घाटन सभा पनि लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रुपमा भूमिका खेल्ने दाबी गर्नुभएको छ । ‘मंसिर २७ को उद्घाटन समारोहको जनउपस्थितीले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रुपमा भूमिका खेल्नेछ’ ज्ञवालीले लेख्नुभएको छ ‘हाम्रो एक दिनको उपस्थितिले खास अर्थ राख्छ भने किन उपस्थित नहुने ?’
उपमहासचिव ज्ञवालीले मंसिर २७ गतेको उद्घाटन सभामा सबैलाई भक्तपुरको सल्लाघारीमा उपस्थित हुन आह्वान गर्नुभएको छ ।


