
राजनीतिमा ‘लहर’ आउँछ र जान्छ । धेरै नेताहरू समयको बहावसँगै उदाउँछन् र अस्ताउँछन् पनि । तर, झापाको राजनीतिमा एउटा यस्तो नाम छ, जुन विगत चार दशकदेखि जनता र पार्टी दुवैको परीक्षामा अनवरत पास हुँदै आएको छ । त्यो नाम हो, एकराज कार्की । अहिलेसम्म उहाँले कुनै चुनाव हार्नु भएको छैन। उहाँ हाल कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री हुनुहुन्छ ।
पञ्चायती बुटको क्रुर प्रहारदेखि गणतन्त्र कालको मन्त्रीसम्मको उहाँको यात्रा रोमाञ्चक र उत्तिकै प्रेरणादायी पनि छ । २०३६ सालको विद्यार्थी आन्दोलनको रापबाट उदाएका कार्कीले आजसम्म जनताको जनमत होस् वा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा, कहिल्यै ‘हार’को सामना गर्नु परेको छैन ।
एकराजको संसदीय राजनीतिको जग नै ‘विद्रोह र शर्त’मा अडिएको छ । २०४३ सालमा दलहरू प्रतिबन्धित थिए । ‘मण्डले’हरूको राज थियो । त्यतिबेला नेकपा एमाले (तत्कालीन माले) भूमिगत थियो । पार्टीले ‘जनपक्षीय’ उम्मेदवार उठाएर पञ्चायत भित्रैबाट पञ्चायतको भण्डाफोर गर्ने नीति लियो । तत्कालीन मेची अञ्चल इञ्चार्ज अहिलेका एमाले नेताहरू अमृत बोहरा र अष्टलक्ष्मी शाक्यहरूले कार्कीलाई तिमी प्रधानपञ्च उठ्नुपर्छ भनेर भनेको उहाँले स्मरण गर्नु हुन्छ ।
भर्खर आईएल सकेर बीएल पढ्ने सपना बोकेका एकराजले नेताहरूसँग शर्त राख्नुभयो, ‘म प्रधानपञ्च होइन, उपप्रधानपञ्च उठ्छु । तर जितेपछि मलाई पार्टीले पढ्न जाने सुविधा दिनुपर्छ ।’
पार्टीले मान्यो । उहाँ झापाको तत्कालीन गरामनी गाउँ पञ्चायत (हाल बिर्तामोड)मा उपप्रधानपञ्च लडनु भयो र जितनु भयो । त्यो जीत सामान्य थिएन । त्यो झापा आन्दोलनको उद्गम थलोमा रोपिएको परिवर्तनको बीउ थियो ।
अहिले मन्त्रीको कुर्सीमा बसेर फाइल सदर गरिरहँदा कार्कीको स्मृतिमा पञ्चायती बर्बरता ताजै छ । जनपक्षीय मञ्च बनाएर जनताको काम गर्दा राज्य संयन्त्र उहाँमाथि खनिएको थियो ।
भावुक हुँदै मन्त्री कार्की ती दिन सम्झिनु हुन्छ, ‘पञ्चायतको यातनाको त कुरै नगरौँ । हाम्रो नङ र मासुको बीचमा सुइरो रोपियो । त्यतिले नपुगेर बोरामा हालेर राति बाहिर निकालेर निर्घात कुटिन्थ्यो । अहिले सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ, हामीले त्यो पीडा कसरी सह्यौँ होला ?’
२०४६ सालको आन्दोलन उत्कर्षमा थियो । कांग्रेस नेता सीके प्रसाईंका दाजु रामबाबु प्रसाईंको घरमा जाँदै गर्दा उहाँ पक्राउ पर्नुभयो । यातनाले उहाँको शरीर गले पनि एमालेप्रतिको निष्ठा र जनताप्रतिको दायित्व गलाउन सकेन ।
कार्कीको सबैभन्दा बलियो पक्ष भनेको उहाँको ‘अविजित रेकर्ड’ हो । २०४३ मा उपप्रधानपञ्च, २०४९ मा गाविस अध्यक्ष, २०५४ मा वडा सदस्य हुनुभयो । त्यतिबेला पाटीले जिल्ला विकास समितिको सदस्य बन्न वडा सदस्य बनाएको थियो । तर गुटको लडाइका कारण ५ वर्ष उहाँ वडा सदस्य मात्रै बन्नुभयो । २०६९/७४ र २०७९ मा प्रदेश सभा सदस्य बन्नुभयो ।
उहाँ पार्टीभित्र पनि कार्की सधैं ‘सर्वप्रिय’ नै रहे । २०५१ सालदेखि जिल्ला कमिटी सदस्य हुँदै उहाँ गाउँ, इलाका, क्षेत्रीय कमिटी र महाधिवेशन प्रतिनिधिको चुनाव कहिल्यै हार्नु भएको छैन । भर्खरै सम्पन्न महाधिवेशन प्रतिनिधि छनोटमा पनि उहाँले ६८ प्रतिशतभन्दा बढी १६१६ मत ल्याएर आफ्नो लोकप्रियता पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्र जस्तोसुकै गुट वा अन्तरविरोध भए पनि कार्यकर्ताले मलाई सधैं न्याय गरेका छन्, सधैं जिताएका छन् ।’
२०७९ को निर्वाचन एकराज कार्कीको राजनीतिक जीवनको ‘मास्टरक्लास’ थियो । एकातिर कांग्रेस, माओवादी र एकीकृत समाजवादीको बलियो पाँच दलीय गठबन्धन थियो, अर्कोतिर एमालेबाट एक्ला एकराज ।
अंकगणितमा गठबन्धनसँग ६ हजार मत थियो । तर जब मतपेटिका खुल्यो, नतिजा एकराजको पक्षमा आयो । उहाँले करिब १९ हजार मत ल्याएर सानदार जित हासिल गर्नुभयो । ‘मैले कहिल्यै जनतालाई एमाले र कांग्रेसको चश्माले हेरिनँ । मलाई भिन्न विचार राख्ने विपक्षी साथीहरूको पनि भोट आउँछ । इमान्दारिताको राजनीति गर्ने हो भने जनताले गठबन्धन हेर्दैनन्, काम हेर्छन्,’ उहाँले भन्नुभयो ।
एमालेको आगामी महाधिवेशनमा नेतृत्वका लागि योग्य मानिनुको अर्को कारण उहाँको ‘त्याग’ हो । २०७० र २०७४ सालको संविधानसभा तथा संसदीय निर्वाचनमा उहाँको दाबी संघ (केन्द्र)मै थियो । तर, पार्टीले अहिलेका सभामुख देवराज घिमिरेलाई टिकट दियो ।
एकराजले कुनै विद्रोह गरेनन्, बरू आफ्ना नेतालाई जिताउन कम्मर कसेर लागे । ‘मैले नपाए उठ्दिनँ’ भनेर घुर्की लगाउने संस्कार उनमा कहिल्यै देखिएन । पार्टीले जहाँ खटायो, त्यहीँ बसेर काम गरे । वडा सदस्यमा झरेर काम गर्नुपर्दा पनि उहाँले नाक खुम्च्याएनन् । यही अनुशासनले उनलाई आज कोशी प्रदेशको मन्त्री र एमालेको भरोसायोग्य खम्बा बनाएको छ ।
राजनीतिमा मात्र होइन, कार्यसम्पादनमा पनि उहाँ अब्बल देखिउनु भएको छ। उहाँले सम्हालेको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा ९४.७० प्रतिशत पुँजीगत खर्च गरेर देशमै उदाहरण पेश गरेको छ । ‘यो तथ्यांक सामान्य होइन । यो कामप्रतिको लगाव हो,’ मन्त्री कार्की भन्नु हुन्छ ‘बजेट बनाउँदा मैले मेरो क्षेत्र मात्र हेरिनँ, जहाँ कांग्रेसले जितेको छ, जहाँ माओवादीले जितेको छ, त्यहाँ पनि आवश्यकताका आधारमा बजेट हालिदिएँ । किनकि विकासमा राजनीति गर्नुहुन्न ।’


