२०८२ मंसिर २१, शनिवार , ०७:३६:१३ बजे

Sajhamanch
'

लाल–भागिरथा बानियाँ प्रतिष्ठानद्वारा पत्रकार, उत्कृष्ट गृहिणी, जैविक कृषक समूहसहित चार विद्यार्थी र एक दम्पत्ती सम्मानित एवम् पुरस्कृत

शनिवार, मंसिर २१, २०८२

मेचीनगर । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना उत्कृष्ट प्रतिभा र एक ज्येष्ठ दम्पत्तीलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

शनिबार मेचीनगर–११ धाइजनस्थित जालपा सभाहलमा प्रतिष्ठानको ७औं वार्षिक साधारण सभामा उत्कृष्ट प्रतिभा पुरस्कार झापाका अग्रज पत्रकार नकुल काजीलाई प्रदान गरियो ।

यस्तै, लालबहादुर उत्कृष्ट कृषि पुरस्कार इन्द्र पाठक अध्यक्ष रहेको उज्यालो भविष्य जैविक कृषक समूहलाई र भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार मालती राजवंशीलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

प्रतिभाहरुलाई जनही नगद ३१ हजार रुपैयाँसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । भद्रपुर–८ निवासी काजी झापाका पुराना पत्रकार हुन् । पाठक अध्यक्ष रहेको समूहले मेचीनगर–९ मा अर्गानिक कृषि खेती गर्दै आएको छ ।

त्यस्तै, ७० वर्षीय उत्कृष्ट गृहिणी मालती राजवंशी मेचीनगर–७ स्थित मदन वस्ती निवासी हुन् । उनले १२१ वर्षीया सासुआमा पुहानी राजवंशीको हेरचाह गर्दै आएकी छन् ।

यसैगरी प्रतिष्ठानले मेचीनगर–११ निवासी एक ज्येष्ठ दम्पतीलाई पनि सम्मान गरेको छ । ९० वर्षीय हेमलाल खतिवडा र ८१ वर्षीया तुलसा खतिवडालाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।

सबै प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेत, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ लगायतले सम्मान गरेका थिए ।

यसैबीच प्रतिष्ठानले मंसिर १९ गते चारआलीको सहिद दशरथ चन्द माविमा विद्यार्थी माझ गरिएको ‘ज्येष्ठ नागरिकको अभिभावकत्व, युवा समुदायको संरक्षण गर्ने दायित्व’ विषयक वक्तित्वकला प्रतियोगितामा विजेता बनेका चारजना विद्यार्थीहरुलाई पनि नगदसहित पुरस्कृत गरेको छ ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने मेचीनगर–१० धुलाबारी माविकी जयन्ती बुढाथोकी, दोस्रो हुने मेचीनगर–१२ स्थित सरस्वती बालकल्याण माविका विद्यार्थी डिमेश्वरी भट्टराई, तेस्रो हुने मेचीनगर–१४ स्थित बाल सुवोधिनी माविकी अनुजा रायमाझी र सान्तवना हुने मेचीनगर–९ स्थित कवि शिरोमणि माविका साजन मगरलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद बस्नेत, मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणि ओली, सम्मानित व्यक्तित्व पत्रकार नकुल काजी लगायतले समाजमा योगदान गर्ने अग्रजहरुलाई खोजेर, चिनेर सम्मान गर्नसके सेवाको महत्व हुने बताए ।

प्रतिष्ठानका अध्यक्ष बानियाँले अर्गानिक कृषि खेती किसान वा समूह, पत्रकारिताबाट समाजमा पुर्याएको योगदान र सासूआमाको स्याहार सुसारमा अहोरात्र खट्ने बुहारीहरुको असल कर्मप्रति भावलाई मध्येनजर गरेर यसपटक प्रतिभाहरुलाई पुरस्कृत गर्न पाउँदा खुशी भएको बताए ।

विगत ७ वर्षदेखि प्रत्येक वर्ष मंसिर २० गते स्व. लालबहादुर बानियाँको जन्मोत्सवमा प्रतिष्ठानले प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा आमन्त्रित र सहभागीहरुलाई सचिव डम्बर देउजाले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहसचिव उपेन्द्र बानियाँले गरेका थिए । प्रतिष्ठानका कोषाध्यक्ष आशा बानियाँ उप्रेतीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् ।

सम्बन्धित खबर