
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ ।
त्रिवि क्रिकेट रंगशालामा हिजो भएको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले शीर्ष दुईको स्थान पक्का गरेको हो । योसँगै सुदूरपश्चिमले लगातार ६ खेल जितेको छ ।
सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर १ बलमा १२० रनमै अलआउट भयो । चितवनका रवि बोपराले २९ र देव खनालले २८ रन बनाए । सुदूरपश्चिमका पुनीत मेहराले ३, दीपेन्द्रसिंह ऐरी, हिकमत महरा, अविनाश बोहरा, इसान पाण्डेले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाएर १६९ रन जोडेको थियो । सुदूरपश्चिमका क्रिस लिनले सबैभन्दा धेरै ७५, आरिफ शेख र कप्तान दीपन्द्रसिंह ऐरीले समान २४ रन बनाए । चितवनका सैफ जैबले २, रञ्जित कुमार र जर्ज स्क्रिमशाले समान १ विकेट लिए । सुदूरपश्चिमले १२ अंक जोडेको छ ।
अब सुदूरपश्चिमले शीर्ष दुईमा पर्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ । यसैबीच एनपीएलमा आज एक खेल हुँदैछ । त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।


