२०८२ मंसिर २०, शुक्रवार , ११:३३:३६ बजे

Sajhamanch
'

स्वर सम्राट नारायण गोपालको ३५औँ स्मृति दिवस आज

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । आज स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३५औं स्मृति दिवस मनाइँदैछ ।

१९९६ साल असोज १८ गते काठमाण्डौको किलागलमा जन्मनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पाउनुभएको छ ।

२०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो । उहाँले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै १३५ भन्दा धेरै गीत गाउनुभएको रेकर्ड छ ।

नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ । यस्तै, उहाँले नेपाल भाषाका पनि गीत गाउनु भएको छ । २०१३ सालमा दुर्गालाला श्रेष्ठको नाटकबाट दृष्टिविहीन व्यक्तिको भूमिकामा अभिनय गर्दै रंगमञ्चमा प्रवेश गरेका उहाँ २०१८ साल पछि गायनमा सक्रिय हुनु भएको थियो ।

नारायण गोपाल २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत हुनु भएको थियो भने २०२४ सालमा सर्वोत्कृष्ट गायकको पुरस्कार पाउनु भएको थियो ।

यस्तै, २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार र २०४५ सालमा जगदम्बा श्री पुरस्कारबाट सम्मानित हुनु भएको थियो । नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ ।

उहाँले गाएका गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत लोकप्रिय र अजरअमर छन् ।

मूर्धन्य कलाकार नारायणगोपालको निधनपछि उहाँकै निवास महाराजगञ्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उहाँको स्मरण गर्दैछ ।

शुक्रवार, मंसिर २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर