२०८२ मंसिर १८, बुधवार , १२:५६:२४ बजे

Sajhamanch
'

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

बुधवार, मंसिर १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवम् पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवम् अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका उहाँले बताउनुभएको छ ।

आजको यस दिवसले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सम्बन्धित सबै सरोकार भएकाहरूलाई अपाङ्गता भएका व्यक्ति एवम् तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सम्बन्धित खबर