
काठमाडौं । देशको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढको नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण शुरू भएको छ । चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्ने अहिलेको पुलसँगै नयाँ पुल निर्माण सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनीयर नारायणप्रसाद लामिछानेका अनुसार निर्माणाधीन पुलको काम निरन्तर अघि बढिरहेको छ । पुलको निर्माण डिजाइन एण्ड बिल्ड प्रणालीअन्तर्गत भइरहेको छ ।
निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनादेखि फिल्डमा काम शुरू गरिसकेको छ । २०८० साल जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले पुलको अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण गराइसकेको प्रमुख लामिछानेले बताउनुभयो ।
निर्माण व्यवसायीले समयमै डिजाइन पूरा गरी प्रमाणीकरण पनि भइसकेको र त्यही आधारमा अहिले जग खन्ने र फाउन्डेसन निर्माण अघि बढाइएको छ । लामिछानेका अनुसार यो पुल केबल–स्टेड शैलीको आधुनिक संरचना हो । पुलको मुख्य टावरबाट तानिएका ठूला स्टिल केबलहरूले पुललाई थाम्ने भएकाले यो संरचना बलियो, सुरक्षित, सौन्दर्यपूर्ण र पहिचानमूलक हुने बताइएको छ ।
अहिले नदीमा डाइभर्सन निर्माण गरी पुलको फाउन्डेसन निर्माण गर्नुपर्ने ठाउँहरुमा आवश्यक ठाउँ तयार गर्ने काम भइरहेको छ । बर्खा शुरू हुनुअघि नै फाउण्डेसनको काम सक्नेगरी काम भइरहेको छ । प्रारम्भिक चरणमा टेस्ट पाइल पनि अघि बढिरहेको छ ।


