२०८२ मंसिर १६, सोमवार , ०२:२८:२६ बजे

Sajhamanch
'

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

सोमवार, मंसिर १६, २०८२

चितवन । जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यौन रोगी भेटिएको हो ।

उनीहरूलाई भिरिङ्गी रोग देखिएको हो । उहाँका अनुसार असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमितमा यौन रोग बढ्न थालेको हो ।

अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ । त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो ।

जिल्लामा हाल एक हजार २४३ जना एड्स सङ्क्रमित रहेका छन् । जसमध्ये ३४ जनाले माडीको बघौडा अस्पतालबाट औषधि सेवन गरिरहेका छन् भने एक हजार २०९ जनाले भरतपुरमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गर्दै आएका छन् ।

विगत १० महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा ६६ जना नयाँ सङ्क्रमित भेटिएको पौडेलले जानकारी दिए । २८५ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा एड्स सङ्क्रमित भेटिएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार यस अवधिमा भरतपुर अस्पतालको एआरटी सेन्टरमा औषधि सेवनका लागि १०४ जना बिरामी थपिएका छन् । यहाँ थपिएका नयाँ सङ्क्रमितसहित अन्य जिल्लाबाट स्थानान्तरण भएका बिरामीसमेत यहाँबाट सेवा लिने गरेको उहाँले बताउनु भयो ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यहाँबाट औषधि खाँदै आएका ६५ जना बिरामी स्थानान्तरण भएका छन् । अठ्ठाइस् जनाले औषधि सेवन गर्न छाडेको उहाँले जानकारी दिनुभयो ।

यहाँ रहेका सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको उहाँले बताउनु भयो । एड्स रोग लागेका सङ्क्रमितलाई हेर्ने दृष्ट्रिकोणमा अझै परिवर्तन आउन नसकेको उहाँले बताउनु भयो ।

सङ्क्रमितहरूलाई उपचारका लागि अस्पताल ल्याउनका लागि एम्बुलेन्सहरूलेसमेत गाह्रो मान्ने गरेका उहाँको भनाइ छ ।

सम्बन्धित खबर