
काठमाडौं । प्रभु बैंक लिमिटेडले निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका सीईओ अशोक शेरचन र डेपुटी सीईओ मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो । प्रहरीको अनुसन्धान प्रक्रियाले बैंकको नियमित सेवा प्रवाहमा कुनै असर नपर्ने भन्दै बैंकले ग्राहकहरूलाई निर्धक्क सेवा लिन आग्रह गरेको छ ।
प्रभु बैंकले आफ्नो सेवा संरचना, वित्तीय स्थिति तथा ग्राहकप्रतिको प्रतिबद्धता अविच्छिन्न रहेको भन्दै आवश्यक कामकाज निर्धारित नीतिअनुसार नै अघि बढाइने पुनः स्पष्ट पारेको छ ।
हिजो प्रभु बैंकका सिइओ अशोक शेरचन, डीसीओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ अनामनगरको बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।
बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा अपचलन सम्बन्धी मुद्दा चलाइरहेकै समयमा बैंकका उच्च अधिकारीहरू पक्राउ परेका हुन् ।
उनीहरू पक्राउ परेसँगै बैंकले निरज लम्साललाई कार्यवाहक सीईओ तोकेको हो ।


