
काठमाडौं । किसानहरूले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल न्यूनतम ७५० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् ।
उखु उत्पादक किसान प्रतिनिधिले कृषि तथा पशुपक्षी विकासमन्त्री डा। मदन परियारलाई भेटेर मूल्यवृद्धि तथा न्यायोचित दर निर्धारणका लागि ज्ञापनपत्र बुझाएका छन् ।
उखु उत्पादक महासङ्घ सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीका अनुसार माग बमोजिम मूल्य नबढे चरणबद्ध सडक आन्दोलन शुरू गर्ने किसानले चेतावनी दिएका छन् ।
सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, नवलपरासी, कञ्चनपुर, सप्तरीसहित झन्डै एक दर्जन जिल्लाका प्रतिनिधिले सरकार, उद्योगी र किसानको सहभागितामा मूल्य निर्धारण गर्नुपर्ने माग दोहोर्याएका छन् ।
सरकारले झन्डै १० वर्षदेखि दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानमध्ये गएको वर्ष ५० प्रतिशत कटौती गरेपछि किसानले मात्र ३५ रुपैयाँ मात्र पाएका थिए । बाँकी ३५ रुपैयाँ अनुदान यही मङ्सिर १३ गतेभित्र नआए १४ गतेदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजामसहित आन्दोलन शुरू गर्ने किसानको चेतावनी छ ।
यसैबीच उखुको मूल्य निर्धारण नहुँदै उद्योगीहरूले चिनी मिल सञ्चालनको तयारी गरेका छन् ।


