
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षामा समेटिने श्रमिकको संख्या साढे २६ लाख पुगेको छ ।
सामाजिक सुरक्षा कोषका अनुसार औपचारिक क्षेत्रका ६ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगार क्षेत्रका ५८२ जना श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षामा समेटिएका हुन् ।
कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । यी योजनाबाट श्रमिक र तिनका परिवारलाई विभिन्न सुविधा तथा सहुलियत प्रदान गर्दै आएको छ ।
यस्तै बचतको ब्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत पनि प्रदान गर्दै आएको कोषले जनाएको छ । कोषमा अहिलेसम्म ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम सङ्कलन भइसकेको छ ।
यसैबीच आज ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । सरकारले २०७५ सालको मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो ।


