२०८२ मंसिर ११, बुधवार , ०३:१५:२२ बजे

Sajhamanch
'

राष्ट्रिय स्वतन्त्र पार्टीका सातै प्रदेशका इन्चार्ज पदमुक्त

बुधवार, मंसिर ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

गएराति बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई इन्चार्जबाट हटाएर अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्जको भूमिका दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । नयाँ प्रदेश इन्चार्ज भने तोकिएका छैनन् ।

रास्वपाले गएको वैशाखमा कोशीमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा निमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपीन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई प्रदेश इन्चार्ज तोकेको थियो । कोशी प्रदेश इन्चार्ज रहेका परियारले यसअघि नै रास्वपा परित्याग गरिसक्नुभएको छ ।

अहिले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा पदहरू रिक्त छन् । ती रिक्त रहेका पदहरू पूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट नाम सिफारिशका लागि अनुरोध गर्ने निर्णय गरेको झाले बताउनुभयो ।

सम्बन्धित खबर