
ताप्लेजुङ । अवरुद्ध रहेको ताप्लेजुङको ओलाङचुङगोला जाने सडक मर्मतपछि फेरी गाडी सञ्चालनमा आउन थालेका छन् ।
सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सडक सफाइ र मर्मत सम्पन्न भएपछि दुई वटा मोटरसाइकल र एउटा ट्याक्टर ओलाङचुङगोलासम्म पुगेका छन् ।
फक्ताङलुङ गाउँपालिका–७ का वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार वर्षातका समयमा विभिन्न ठाउँमा सडक भासिँदा र पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
अहिले त्यो सडक मर्मतपछि सुकेपानीदेखि ओलाङचुङगोला–टिप्ताला सडकखण्ड फेरि सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । सडक खुलेसँगै स्थानीयले मोटरसाइकलसहितका साना गाडी चलाउन थालेका छन् ।
तर सुकेपानी र जोङिगन क्षेत्र हुँदै बग्ने तमोर नदीमा पानीको बहाव अझै उच्च रहेकाले सवारीसाधन तार्न कठिनाइ रहेको स्थानीयले बताएका छन् । एक दुई हप्ताभित्र तमोरको पानीको बहाव घट्ने अनुमान गरिएको छ । त्यसपछि ह्युम पाइप राखेर साना सवारी सहज रूपमा आवतजावत गर्न सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।


