२०८२ मंसिर ९, सोमवार , १०:५४:२९ बजे

Sajhamanch
'

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन सरकारको आह्वान

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको छ ।

मन्त्रालयले सम्बद्ध सबै निकायमा परिपत्र गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियानलाई विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको हो ।

मन्त्रालयअन्तर्गत लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख महिला विकास अधिकृत ममता विष्टका अनुसार यो अभियान देशभर तीनै तहका सरकार, विद्यालय, सङ्घसंस्था र सरोकारवाला निकायहरूको सहभागितामा मनाउन आह्वान गरिएको हो ।

अभियानअन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ ।

अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ ।

तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन । बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् ।

सम्बन्धित खबर