
बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश समितिले आफ्नो पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि आज बिहान भएको घटनाको घोर भत्र्सना गरेको छ ।
काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा हुने युवा जागरण कार्यक्रमतर्फ जाने क्रममा उहाँहरु माथि केही उच्छृङ्खल युवाहरुबाट दुव्र्यवहार र आक्रमण गर्ने प्रयास भएको थियो ।
कोशी प्रदेश समितिका अध्यक्ष घनश्याम खतिवडाले आज अपरान्ह विज्ञप्ति जारी गर्दै राजनीतिक व्यक्तित्वमाथि गरिएको रातो मसी छ्याप्ने, भीड उकास्ने, बाटो अबरुद्ध गर्ने र शारीरिक आक्रमणको प्रयास गर्ने कार्य अत्यन्त गम्भीर, आपराधिक र पूर्ण रूपमा निन्दनीय कार्य भएको जनाउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कृयाकलाप लोकतन्त्रको आधारस्तम्भ मै प्रहार गर्ने, मानवअधिकारको खुला उल्लंघन गर्ने र राजनीतिक हिंसा भड्काउने संगठित प्रवृत्तिका आचरण हुन् । बाटो ढुकेर आक्रमण गर्ने खालका कार्य विधि, कानून र संविधान विरुद्धका भएकोले यस्ता अराजकता रोक्ने काममा सरकारले ध्यान नदिएको र उकास्ने खालका गतिबिधिहरु भएको हामीले ठानेका छौँ ।’
यसअघि बाराको सिमरामा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसहितका नेताहरु सहभागी हुने कार्यक्रम पछि उत्पन्न घटनाहरु दोहोरिँदै जानुले सरकार यस्ता घटनाका दोषीलाई संरक्षण गरिरहेको छ, भन्ने स्पष्ट पारेको छ । राजनीतिक दलका नेतामाथिका आक्रमणलाई नियोजित रूपमा बढाइएको, राज्यका संयन्त्रले आवश्यक नियन्त्रण तथा निरुत्साहन गर्न असफल भएको गम्भीर सन्देश दिएको छ ।
स्वतन्त्र आवागमन, शान्तिपूर्ण राजनीतिक कार्यक्रम सञ्चालन र नागरिक सुरक्षामा गम्भीर व्यवधान पुर्याउने यस्ता घटनाहरूलाई नेकपा (एमाले) कुनै पनि दृष्टिले स्वीकार गर्न सक्दैन, कोशी प्रदेश समितिका अध्यक्ष खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता गतिविधि रोकी सम्भावित हिंसाबाट रोक्न हामी सरकारलाई आग्रह गर्दछौँ । अराजकता र आक्रमण–केन्द्रित प्रवृत्तिले राजनीतिक संस्कारलाई बिगार्ने मात्र होइन कानूनी शासनमाथि नै चुनौती दिने स्थिति सिर्जना हुने भएकाले राजनीतिक असहमति व्यक्त गर्न हिंसा, दुव्र्यवहार वा आपराधिक शैली अपनाउनु लोकतन्त्र माथिको आक्रमण हो । व्यक्तिमाथि हुने शारीरिक आक्रमण, सार्वजनिक स्थलमा गालीगलौज, आवागमन रोक्ने प्रयास वा ‘निषेध–राजनीति’ लोकतन्त्रको आत्मासँग मेल खाँदैन । निर्वाचन, सभा सम्मेलन र खुला आवागमन लोकतन्त्रका आधारभूत प्रक्रिया हुन् ।’
‘नेताहरूका गतिविधि, विचार वा कार्यप्रति असहमति हुनु स्वाभाविक हो, तर त्यो असहमति संस्थागत, शान्तिपूर्ण र विवेकपूर्ण रूपमा व्यक्त नहुने हो भने त्यसले आन्दोलनको सकारात्मक ऊर्जा पनि कमजोर पारिदिन्छ । यसर्थ नेकपा एमाले यस्ता घटनामा संलग्न व्यक्तिहरू माथि कडा कानुनी कारवाही गरी भविष्यमा कुनै पनि राजनीतिक व्यक्तिमाथि आक्रमण, अवरोधजस्ता कार्य दोहोरिन नदिन सबैमा अपील गर्दछ’ अध्यक्ष खतिवडाले विज्ञप्तिमा प्रष्ट पार्नुभएको छ ।



