२०८२ मंसिर ८, आइतवार , ०१:०२:४१ बजे

Sajhamanch
'

सूर्यविनायक–धुलिखेल सडक निर्माणको प्रगति ५० प्रतिशत

आइतवार, मंसिर ८, २०८२

काठमाडौं । भक्तपुरको सूर्यविनायक–काभ्रेको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।

सूर्यविनायकबाट साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगाबाट धुलिखेलसम्मको ७.५ मिटर सडक खण्ड विस्तारको प्रगति ५५ प्रतिशत रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ ।

निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तिब्रता दिन आग्रह गर्नुभयो ।

उहाँले आयोजनाको तर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आउँदो असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उहाँले बताउनुभयो । सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालू आर्थिक वर्षमा ७० करोड रुपैयाँ विनियोजन गरिएको छ । आयोजनाले झन्डै चार अर्ब रुपैयाँ थप बजेट माग गरेको छ ।

सम्बन्धित खबर