२०८२ मंसिर ६, शुक्रवार , ०८:५०:५६ बजे

Sajhamanch
'

मेचीनगरका ४६ जना किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण

शुक्रवार, मंसिर ६, २०८२

मेचीनगर । मेचीागर नगरपालिकाले ४६ जना किसानलाई कृषि सामग्रीहरु हस्तान्तरण गरेको छ ।

आज शुक्रबार नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकारका कृषि औजारहरु कृषकलाई वितरण गरिएको हो ।

किसानसँगको पचास प्रतिशत लागत साझेदारीमा करिव १४ लाख रुपैयाँ मूल्य बराबरको उक्त सामग्रीहरु वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यालयको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नगरस्तरीय कार्यक्रम अनुसार मागमा आधारित पशुपालन प्रवद्र्धन कार्यक्रम (५० प्रतिशत अनुदान) अन्तरगत आज कृषि औजारहरु वितरण गरिएको हो ।

एक जना किसानलाई एउटा कम्बाइन मिल, दुई जनालाई काउम्याट र ४३ जना किसानलाई कुटी काट्ने मेसिन (च्यापकटर) प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

मेचीनगर–७ को राई बंगुर फर्मका सञ्चालक रविन राईलाई एउटा कम्बाइन मिल, मेचीनगर–२ का हरिभक्त चापागाईलाई ४ वटा काउम्याट र मेचीनगर–४ को उपकार कृषि फर्मका सञ्चालक सन्तोष राईलाई १६ वटा काउम्याट प्रदान गरिएको छ ।

त्यस्तै मेचीनगर–११ का १० जना, मेचीनगर–१० का २ जना, मेचीनगर–५ र २ का १/१ जना, मेचीनगर–८ का ९ जना, मेचीनगर–३ का १६ जना र मेचीनगर–१५ का ३ जनालाई गरी ४३ जना किसानलाई कुटी काट्ने मेसिन प्रदान गरिएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती लगायतले किसानहरुलाई उक्त औजारहरु हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा मन्तब्य राख्दै नगरप्रमुख बुढाथोकीले पशुपालक कृषकहरुले अधिकतम फाइदा लिउन् भनेर नगरपालिकाले ढिलै भएपनि व्यवस्थित ढंगले सम्बन्धित किसानलाई औजार वितरणमा ध्यान दिइएको बताउनु भयो ।

यस्तै उपप्रमुख उप्रेतीले थोरै संख्यामा वितरण गर्ने र सही ढंगले वितरण गर्न सकेमा औजारको सदुपयोग हुन्छ भन्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेचीनगर–३ का किसान विनोद थापाले नगरपालिकाले कृषि क्षेत्रमा काम गरेका कृषकहरुलाई दिएको औजारले काम गर्न सहज भएको बताउनु भयो ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले सहजीकरण गरेको कृषि औजार वितरण कार्यक्रमको प्रतिवेदन पशु विकास सेवा शाखा प्रमुख बिक्रम गुरुङले प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित खबर