
काठमाडौं । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ ।
सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भएपनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्नसकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गएको कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका थिए ।
गएको असोजमाा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार गएको कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रुपैयाँ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ सङ्कलन गरेको थियो ।


