
काठमाडौं । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। बिहीबार राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन गर्नुपर्ने लगायत ५ बुँदे माग गरेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका अपेक्षा गरिए पनि सरकार चुनावमा मात्र केन्द्रीत भएको गुनासो छ ।
उनीहरुले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।
‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन’, राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र सहिद परिवारका माग यो सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।’
ज्ञापनपत्र बुझाउनेमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणइी एसोसिएसन नेपाल, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायत छन् ।



