२०८२ मंसिर ५, बिहिवार , १२:३६:२४ बजे

Sajhamanch
'

नारायणी पुल क्षेत्रमा भोलि र पर्सि रातको बेला पाँच घण्टा सडक बन्द हुने

बिहिवार, मंसिर ५, २०८२

नवलपरासी । नारायणघाट–बुटवल सडक खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी पुल क्षेत्रमा दुई दिन रातको समयमा गाडी आउजाउ बन्द हुने भएको छ ।

भोलि र पर्सि राति ११ बजेदेखि बिहान ४ बजेसम्म त्यसक्षेत्रमा गाडी बन्द गरिने नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले बताउनुभयो । पुलदेखि पश्चिमतर्फ कालोपत्र गर्ने कामका लागि सडक बन्द गर्न लागिएको उहाँको भनाइ छ ।

यस अवधिमा पूर्वतर्फका गाडी नवलपुरका विभिन्न ठाउँमा र पश्चिमतर्फका गाडी चितवनका तोकिएका विभिन्न ठाउँमा रोकिने छन् । साना तथा ठूला गाडीका लागि छुट्टाछुट्टै रोक्ने व्यवस्था मिलाइएको छ । बुटवलबाट नवलपुर हुँदै पूर्वतर्फ जाने गाडीमध्ये बस, मिनीबस, माइक्रो बस, साना चार पाङ्ग्रेसहितका गाडीलाई थुम्सीदेखि पश्चिमतर्फ रोकिने छ ।

यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता ठूला मालवाहक गाडीहरु बेल्डिहादेखि पश्चिमतर्फ रोकिने छन् । यसैगरी नवलपुर हुँदै पश्चिम जान पूर्वतर्फबाट आएका गाडी चितवनमा रोकिने छन् ।

बस, मिनीबस, माइक्रो बस, साना चारपाङ्ग्रे गाडीलाई मुग्लिन नारायणघाट सडकको रामनगरदेखि जुगेडीसम्म र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म रोकिने रिजालले जानकारी दिनुभयो ।

यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता मालवाहक गाडीहरु भने जुगेडीदेखि दासढुङ्गासम्म र गोन्द्राङदेखि टिकौलीसम्म रोकिने छन् । सडक बिस्तार शुरू भएदेखि नै यस खण्डमा भएका खाल्डाखुल्डीका कारण यात्रुले दुःख पाउँदै आएका छन् ।

नारायणी नदीको पुलदेखि पश्चिमतर्फ १७० मिटर सडक कालोपत्र भएपछि नारायणघाट बुटवल खण्डको दाउन्नेसम्म झन्डै ६० किलोमिटर सडक कालोपत्रले जोडिनेछ ।

सम्बन्धित खबर