
विराटनगर । धरौटीबापतको १० हजार रूपैयाँ बुझाउन नसक्दा जिल्ला कारागार मोरङ चलान गरिएका एकजना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार अभद्र व्यवहार मुद्दाका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको हो । लिम्बूलाई अभद्र व्यवहार मुद्दामा गत साउन १४ गते कारागार चलान गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले उनीसँग धरौटीबापत १० हजार रूपैयाँ मागेको थियो । उक्त रकम बुझाउन नसकेपछि कारागार चलान गरियो । प्रशासनको आदेश अनुसार पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएका लिम्बूविरुद्ध मुद्दा भने हालसम्म विचाराधीन छ ।
आफूविरुद्धको मुद्दाको छिनोफानो हुन बाँकी रहेकै अवस्थामा उनको भने मृत्यु भएको हो । लिम्बूलाई अचानक श्वास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएको थियो । समस्याका बारेमा थाहा पाउनेवित्तिकै उनलाई मंगलबार राति ८ बजेतिर कारागार प्रशासनले उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेको थियो ।
कोशी अस्पतालमा उपचाररत अवस्थामै बुधबार बिहान १० बजेतिर लिम्बूको मृत्यु भएको जानकारी ढुंगेलले दिनुभयो । उहाँका अनुसार लिम्बूलाई स्वास्थ्यसम्बन्धी पुरानै समस्या थियो । साउनयता मात्रै कारागारमा राखिएका ६ जना कैदीबन्दीको मृत्यु भइसकेको छ ।


