२०८२ मंसिर ३, मङ्गलवार , ०४:४९:५३ बजे

Sajhamanch
'

२ खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी

मङ्गलवार, मंसिर ३, २०८२

काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ सम्ममा ३ लाख ३० हजार ९ सय १२ जना करदाताबाट २ खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी रहेको छ ।

आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदन अनुसार बक्यौता बाँकी रहेका करदाताबाट ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबर असुली हुन बाँकी देखिएको हो ।

असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा धेरै १ लाख ९३ हजार ६२० जना करदाताबाट २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ ।

मूल्य अभिवृद्धि करतर्फ १ लाख ३७ हजार २५३ जना करदाताबाट ४८ अर्ब ७० करोड, अन्तःशुल्कतर्फ ३ सय ६४ जना करदाताबाट ४ अर्ब ९ करोड र अन्यतर्फ १ हजार ७७० जना करदाताबाट ३ अर्ब १५ करोड रुपैयाँ बराबर कर असुली हुन बाँकी छ ।

गएको आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ । बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१/८२ मा आयकरतर्फ २२ अर्ब ७६ करोड लक्ष्य रहेकोमा ८ अर्ब ७१ करोड रुपैयाँ असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात् १० अर्ब ३३ करोड रुपैयाा असुल भएको छ ।

गएको आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड रुपैयाँ प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव १ प्रतिशत प्रगति भएको छ ।

त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ १८ अर्ब १७ करोड लक्ष्य रहेकामा २२ अर्ब २९ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ ।

सम्बन्धित खबर