
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित आज बेलुकी ७ बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले यो रकम एक वर्षका लागि लगानी गर्न लागेको हो ।
सूचनामा वाणिज्य बैंकमा दुई अर्ब ८२ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ५२ करोड ९५ लाख रुपैयाँ र वित्त कम्पनीमा १७ करोड ६५ लाख रुपैयाँ बराबरको रकम लगानी गर्न लागेको उल्लेख छ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, न्यूनतम कूल पुँजीकोष कायम रहेको र कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका सर्तहरु पूरा गरेको हुनुपर्नेछ ।


