२०८२ मंसिर २, सोमवार , ०१:३१:१३ बजे

Sajhamanch
'

बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्ति सम्मानित

सोमवार, मंसिर २, २०८२

काठमाडौं । बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सरकारले सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आज बिहान काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गर्नुभएको हो ।

वस्तु व्यापारतर्फ लगातार बढी कर तिर्नेको सूचीमा भाटभटेनी परेको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई अर्थमन्त्री खनालले प्रमाणपत्र, दोसल्लासहित सम्मान गर्नुभयो । यस्तै व्यक्तिगततर्फ राजबहादुर शाह सबैभन्दा बढी करदाताको रुपमा सम्मानित हुनुभएको छ ।

सबैभन्दा बढी आयकर दाखिला गर्ने सरकारी स्वामित्वको दूरसञ्चार प्राधिकरण, एकलौटी फर्महरुमध्ये थर्ड आई इन्टरनेशनल, वस्तु निर्माणको कारोबारमा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालिलाई पनि सम्मान गरिएको छ ।

सूचना प्रविधिमा बढी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि, कृषि एवम् पशु पंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि, बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्येमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सम्मानित भएका छन् ।

पर्यटन व्यवसायमा सोल्टी होटल, वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी र सय करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एन्ड क्लियिरिङ हाउस तथा रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने आईएमई समूहलाई पनि सम्मान गरिएको छ ।

विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ । आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।

सम्बन्धित खबर