२०८२ कार्तिक ३०, शनिवार , ०५:१६:३३ बजे

Sajhamanch
'

‘भदौ २३–२४ को विध्वंश महिनौंको तयारी पछि भएको पोख्त प्रमाण जुटेको छ’ : एमाले सचिव अर्याल

शनिवार, कार्तिक ३०, २०८२

झापा । नेकपा (एमाले)को केन्द्रीय कार्यक्रम अनुसार आज शनिबार देशभर जिल्लास्तरीय जनजागरण कार्यक्रमहरु भएका छन् । कतिपय जिल्लामा जनजागरण सभा गरिएको छ भने कतिपय जिल्लामा मोटरसाइकल र्याली, अन्तरक्रिया जूता कार्यक्रम सम्पन्न गरिएको समाचार प्राप्त भएका छन् ।

सोही सन्दर्भमा नेकपा (एमाले) झापाले आज बिर्तामोडमा जिल्लास्तरीय जनजागरण सभा सम्पन्न गरेको छ। झापाका १५ वटै पालिकाबाट प्रतिनिधिमूलक रुपमा हजारौं नेता–कार्यकर्ताको सहभागितामा एमालेले जनजागरण सभा गरेको हो।

जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षतामा भएको सभामा एमालेका केन्द्रीय कमिटी सचिव पद्मा अर्यालले मुख्य वक्ताका रूपमा सभालाई सम्बोधन गर्नुभएको थियो। आफ्नो मन्तब्यका क्रममा उहाँले संसद् पुनःस्थापना, संविधानको रक्षा तथा असंवैधानिक सरकारी कदम विरुद्ध दबाब सिर्जना गर्न पार्टीले देशभर जागरण सभा मार्फत अभियान सुरु गरेको बताउनु भयो।

भदौ २३ गते नवयुवा पुस्ताले गरेको आन्दोलनलाई पृष्ठभूमिमा राखेर भदौ २४ गतेको विध्वंश मच्चाइएको भन्ने प्रचारको खण्डन गर्दै एमाले सचिव अर्यालले भन्नुभयो, ‘उक्त घटनाको लागि देशद्रोहीहरुले महिनौदेखि तयारी गरेको पोख्त प्रमाणहरु जुटिसकेको छ । वर्तमान निर्दलीय सरकारले घटनामा संलग्न दोषीहरुको पहिचान गरी कारबाही गर्ने आँट देखाएन भने जनताको मतबाट निर्वाचित प्रतिनिधिको हाम्रो सरकारले अवश्य नै गर्नेछ ।’

जेन–जी आन्दोलनका क्रममा भएका आपराधिक तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गराउन सरकारलाई दबाब दिने उद्देश्यले पनि जनजागरण सभा आयोजना गरिएको उहाँको भनाई थियो । आफ्नो मन्तब्यमा एमाले नेतृ अर्यालले भन्नुभयो, ‘एमाले राष्ट्रवादी शक्ति भएकै कारण आज राष्ट्रहित विपरीतका शक्तिहरूको आक्रमणमा परेको र फेरि पनि मुलुकको हितका लागि एमाले जागरुक रहेको हुँदा कार्यकर्ताहरूलाई नडगमगाउन विशेष आग्रह छ ।’

नेतृ अर्यालले जेन–जी आन्दोलनका मागहरू एमालेको पनि माग भएको बताउँदै ती मागहरू उचित ढङ्गले सम्बोधन हुनुपर्ने धारणा राख्नुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अन्तर्राष्ट्रिय छवि धमिल्याउने गरी सामाजिक सञ्जालमा विभिन्न अफवाहहरु फिँजाउने गरिएकोले यथार्थ कुरा बुझुन र भ्रममा नपर्न कार्यकर्ताहरुलाई सुझाउनु भयो ।

सो जागरण सभालाई जिल्ला कमिटीका सचिवालय सदस्य तथा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) केन्द्रीय कमिटीका पूर्वसचिव मानोज ताम्ली, केन्द्रीय कमिटीका सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओली र एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले सम्बोधन गर्नुभएको थियो।

पार्टी जिल्ला कमिटीका सचिव तुलसी कार्कीले सञ्चालन गर्नु भएको सो जनजागरण सभामा सहभागी सम्पूर्ण नेता कार्यकर्ताहरुलाई उपाध्यक्ष शिव ढुंगेलले शाब्दिक स्वागत गर्नुभएको थियो।

बिर्तामोडका तीन स्थानबाट सुरु गरिएको र्यालीसहित हजारौंको संख्यामा एमालेका नेता कार्यकर्ताहरु जागरणसभामा सहभागी हुन पुग्नुभएको थियो ।

थप सामग्री संलग्न भिडियो लिङ्कबाट ……

https://www.facebook.com/share/v/1QDyEybr9a/

https://www.facebook.com/share/v/19jtRQT693/

https://www.facebook.com/share/v/1MnGz9WP4w/

सम्बन्धित खबर