
इनरुवा । सुनसरीमा दुई महिनायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ ।
सुरुवाती अवस्थामा २० देखी सय जना आउने जिल्ला निर्वाचन कार्यालय सुनसरीमा अहिले चारदिनयता दैनिक नौं सयदेखि १२ सयको संख्यामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यका लागि आउने गरेको सूचना अधिकारी कुमारी आचार्यले जनाकारी दिनुभयो ।
उहाँका अनुसार गत असोज १० देखि कार्तिक ३० गतेसम्मका लागि नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु भएले पच्छिलो समय फोटो खिचाउन आउनेहरुको भिड अत्याधिक बढेको छ ।
सुरुमा कमै सेवाग्राही आउने गरेकोमा एउटा काउण्टरबाट फोटो खिच्दै आएकोमा अहिले पाँच वटा काउण्टरबाट फोटो खिच्ने काम भईरहेको कार्यालयले जनाएको छ ।
सरकारले अगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको र त्यसका लागि नयाँ मतदाता नामावली दर्ताको कार्य सुरु गरेकाले नयाँ युवा र छुट भएका तथा विदेशबाट फर्किएकाहरुले धमाधम फोटो खिचाउन आएकाले भिड बढेको हो ।
नयाँ दर्ता एवं अद्यावधिक कार्य दैनिक अहिले ९२० देखी एक हजार २३० जनासम्म आउने गरेको र विहीबारसम्ममा सात हजार ५३ जना मतदाता थपिएका छन् । गत असोज १० गतेदेखि हालसम्म ती मतदाता थपिएका आचार्यले जानकारी दिनुभयो ।
सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत अन्तिम चरणमा पुगेको आचार्यले जनाकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पहिलाको तुलनामा निर्वाचन कार्यालयमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उहाँले बताउनुभयो । कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो।
वि.सं. २०७९ को निर्वाचनमा सुनसरीमा पाँच लाख ४४ हजार ९८१ मतदाता थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका मतदाता पाँच लाख ५५ हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो । सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढ्दै गएको समेत कार्यालयले जनाएको छ ।
बिहीबार मात्र एक हजार २३० जनाले नाम दर्ता गराएका छन । विगतका निर्वाचनमा त्यति धेरै चासो नदेखाएका नयाँ मतदाता यस पटक आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएको पाइएको छ । मतदाता नामावलीमा नाम लेखाउन आवश्यक प्रचारप्रसार पनि कार्यालयले गरिरहेको छ ।
गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान स्थल १६६ वटा र मतदान केन्द्र ५९१ वटा निर्धारण गरेको थियो । यही संख्यामा अगामि निर्वाचनमा मतदान स्थल र मतादन केन्द रहने अनुमान गरिएको छ ।


