२०८२ कार्तिक २९, शुक्रवार , ११:४६:४९ बजे

Sajhamanch
'

युट्युवबाट सिकेको सीपले बदल्यो महराको जीवन

शुक्रवार, कार्तिक २९, २०८२

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा करिब दुई दशकअघिसम्म फर्निचरको काम गर्थे । परिवार पाल्न मुस्किल भएपछि विकल्प खोजिरहेको बेला एक दिन साथीले काष्ठकलाका सामान बनाउने भिडिओ मेसेन्जरमा पठाइदिए ।

“इन्टरनेटमा भिडिओ हेरेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा जाग्यो र यसमै लागेँ,” महरा भन्छन्, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो । घर खर्च चलाउनै गाह्रो हुन्थ्यो । अहिले मजदुरीभन्दा यो पेशामा फाइदा छ ।”

२ वर्षदेखि उनी विजयसाल र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनलगायत सामग्री बनाउँदै आएका छन् । उनका उत्पादन ५ सयदेखि २ हजारसम्ममा बिक्री हुन्छन् । युट्युवकै सहयोगले अहिले काठका भाँडाकुँडा तयार पार्ने भइसकेका छन् भक्तबहादुर ।

“अहिले मासिक ४० हजारभन्दा बढी आम्दानी हुन्छ । पहिला महिनौँसम्म खाली बस्नुपर्थ्यो । यति राम्रो कमाइ होला भन्ने मैले सोचेको पनि थिइनँ”, उनले सुनाए ।

उनले बनाएका सामान किन्न अहिले ग्राहक घरमै पुग्छन् । महरा भन्छन्, “माग धेरै आउँछ, मागअनुसार उत्पादन गर्न सकेको छैन । एक्लै काम गर्छु । यहाँका सामुदायिक वनले ‘राम्रो काम गरेको छौ’ भनेर कच्चा पदार्थ उपलब्ध गराउँछन् ।”

सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै लाभ पाउन सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् महरा । “यसमा यति राम्रो आम्दानी होला भन्ने कल्पना नै गरेको थिइनँ । अहिले सन्तुष्ट छु, राम्रै कमाइ हुँदैछ”, उनी भन्छन् ।

लगनशील भएर सीपको सदुपयोग गर्न सके आफ्नै गाउँठाउँमा मनग्य कमाउन सकिने अनुभव सुनाउँछन् भक्तबहादुर ।

शुक्रवार, कार्तिक २९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर