२०८२ कार्तिक २८, बिहिवार , ०४:०९:२४ बजे

Sajhamanch
'

इस्लामाबाद विस्फोट : पाकिस्तानले त्रिदेशीय टी–२० शृङ्खला रावलपिन्डीमा सार्‍यो

बिहिवार, कार्तिक २८, २०८२

झापा । आयोजक पाकिस्तान, श्रीलङ्का र जिम्बावेबीचको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका सबै खेल रावलपिन्डीमा हुने भएको छ ।

राजधानी इस्लामाबादमा यस हप्ता भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले त्रिदेशीय टी–२० शृङ्खला नोभेम्बर १८ देखि रावलपिन्डीमा हुने जनाएको हो ।

अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपको प्रमुख तयारीका रूपमा हेरिएको यो शृङ्खलामा शुरूमा लाहोरमा पाँच खेलको तालिका तय भएको थियो । अब भोलि र आउँदो आइतवार रावलपिन्डीमा पाकिस्तान र श्रीलङ्काबीच बाँकी दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटपछि टी–२० शृङ्खला शुरू हुनेछ ।

सन् २००९ मा लाहोरमा श्रीलङ्काली क्रिकेट खेलाडीहरू बोकेको बसमा बन्दुकधारीहरूले आक्रमण गरेपछि पाकिस्तानले खेलकुद टोलीहरूलाई देश भ्रमण गर्न मनाउन सङ्घर्ष गर्नुपरेको थियो । त्यस बेलादेखि प्रमुख शहरी केन्द्रहरूमा सुरक्षा सुधार भएको छ र सन् २०१९ मा श्रीलङ्काली टोली टेस्ट क्रिकेट खेल्न पाकिस्तान गएको थियो ।

गएको महिना पक्तिका प्रान्तमा भएको सैन्य आक्रमणका कारण आफ्ना तीन स्थानीय क्रिकेटरको ज्यान गएपछि अफगानिस्तानले त्रिदेशीय टी–२० शृङ्खलाबाट नाम फिर्ता लिएको थियो । अफगानिस्तानको ठाउँमा जिम्बावेले खेल्ने भएको हो ।

पाकिस्तान, श्रीलङ्का र जिम्बावेबीचको टी–२० शृङ्खलाको फाइनल नोभेम्बर २९ मा हुनेछ ।

बिहिवार, कार्तिक २८, २०८२ | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर