२०८२ कार्तिक २७, बुधवार , ०१:५२:२७ बजे

Sajhamanch
'

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजीका लागि अध्ययन शुरू

बुधवार, कार्तिक २७, २०८२

मनाङ । मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन शुरू गरेको छ ।

मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा पदमार्ग सर्वेक्षण शुरू गरिएको हो । अहिले मनास्लु आरोही काठमाडौंबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन् । पूर्वतर्फबाट मनास्लु आरोहण शुरू गर्छन् ।

तर, मनाङको नासोँ गाउँपालिकाले काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन थालेको छ । सामागाउँ र भीमथाङ दुवैतर्फको आरोहण मार्ग ६ हजार मिटर उचाइ क्याम्प थ्री मा पुगेर मिसिन्छ ।

गोरखामा पर्ने यो हिमाल आठ हजार १६३ मिटर अग्लो छ । सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले यो हिमालको पहिलो पटक आरोहण गर्नुभएको थियो ।

त्यसबेला भीमथाङबाटै आरोहण भएको र पछि पदमार्गमा क्षति पुगेपछि सामागाउँतर्फबाट आरोहण थालिएको नासोँ गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बताउनुभयो ।

बुधवार, कार्तिक २७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर