२०८२ कार्तिक २६, मङ्गलवार , ०७:४६:३३ बजे

Sajhamanch
'

क्यान महासंघ झापाको ११औं वार्षिक साधारणसभा सम्पन्न

मङ्गलवार, कार्तिक २६, २०८२

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा जिल्ला शाखाको ११औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।

शाखा अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा जिल्ला शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा क्यान महासंघ झापा जिल्ला शाखाका सचिव खगेन्द्र मिश्रले यो समिति निर्वाचित भएदेखि सञ्चालन गरिएका काम तथा उपलब्धीहरु समेटेर प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले गत वर्ष मंसीर १७ गते निर्वाचित भई कार्यभार सम्हालेपछि क्यान महासंघ झापाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाएको, सडक दूर्घटना सम्बन्धी ट्राफिक सचेतना प्रदान गरिएको, स्वीस एम्बासीको प्रतिनिधिसँग छलफल गरी परियोजना सञ्चालनको वातावरण बनाइएको, प्रथम आईटी र प्रयास प्रारम्भसँगको सहकार्यमा हेल्भेटासले प्रदान गरेको सीप अभिवृद्धि तालिममा ४० जनालाई सहभागी गराइएको सुनाउनु भयो ।

यस्तै गत आर्थिक वर्षको सूचना प्रविधि दिवसमा सूचना प्रविधिको विकास र प्रयोग सम्बन्धमा विज्ञहरुसहित क्यान पदाधिकारीबीच अन्तरक्रिया गरी सामाजिक सञ्जालबाट प्रवाह गरिएको, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, हेल्भेटास नेपाल र क्यानका पदाधिकारीहरुबीच १४ वटा शिक्षालयहरुको भेटघाट कार्यक्रम गरिएको आदि कार्यक्रमहरु सम्पन्न गरिएको सचिवको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, कोषाध्यक्ष जेनिशा पोखरेलले आर्थिक वर्ष २०८१/८२ मा भएको वित्तीय कारोबारको विवरण प्रस्तुत गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा हेल्भेटासको इन्स्योर परियोजनाले तालिम गर्ने अवसर प्रदान गरी थोरी रकम बचत गर्न सकेको सुनाउनु भयो । प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा क्यान महासंघ झापाले १ लाख ८७ हजार ६१० रुपैयाँ आम्दानी गरी १ लाख ४३ हजार ४२० रुपैयाँ खर्च गरेको थियो ।

साधारणसभाको बन्दशत्रले उक्त दुवै प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको थियो ।

सो साधारण सभामा प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठ, पूर्व केन्द्रीय सचिव भुपेन्द्र मैनाली, पूर्व केन्द्रीय सदस्य तथा झापा शाखाका संस्थापक अध्यक्ष दिपेश पाठक, झापा शाखाका निवर्तमान अध्यक्ष तथा कोशी प्रदेशका सचिव कृष्ण घिमिरे र इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले क्यान महासंघको स्थापना, यसको कार्यक्षेत्र, सदस्यताको गुणस्तरीयता एवम् वर्तमान कार्यसमितिले गर्न सक्ने कामहरुका सम्बन्धमा सुझावसहित आफ्नो मन्तब्य राख्नु भएको थियो ।

सचिव खगेन्द्र मिश्रले सञ्चालन गर्नुभएको साधारणसभा समारोहमा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई उपाध्यक्ष लोकप्रिय खानालले शाब्दिक स्वागत गर्नुभएको थियो भने अध्यक्ष शुभ कुमाई पाठकले क्यान महासंघ झापा शाखालाई अझ मजवुत बनाउन के कस्ता योजनाहरु कार्यान्वयन गर्न सकिन्छ भनी सदस्यहरु एवम् अतिथिहरुबाट सुझाव माग्नु भएको थियो । उहाँले क्यान महासंघ झापाको सचियावलाय यसैसाताबाट औपचारिकरुपले सञ्चालनमा ल्याउने पनि प्रतिवद्धता जनाउनु भएको छ ।

साधारणसभा समारोहमा विभिन्न प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्यानको तर्फबाट प्रमाण पत्र प्रदान गरिएको थियो ।

सम्बन्धित खबर