
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले टिकट बिक्रीबाट नेपालकै इतिहासमा सर्वाधिक रकम संकलन गरेको छ। प्रतियोगिताभर रंगशाला दर्शकले खचाखच भरिएको थियो।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर ५८ लाख ३ हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन गरिएको हो।
एलभिडी झापा महिला गोल्डकपले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगितामा रंगशाला भरिभराउ रहेको थियो । फाइनल खेलमा मात्र ३० लाख दुई हजार ४०० रुपैयाँको टिकट बिक्री भएको हो ।
त्यस्तै, पहिलो सेमिफाइनलमा पाँच लाख ५० हजार ७०० रुपैयाँ र अन्तिम सेमिफाइनल खेलमा ११ लाख पाँच हजार ५०० रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।
त्यस्तै, क्वार्टर फाइनलका चार खेलमा टिकट बिक्रीबाट ११ लाख ४४ हजार ४०० रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ । उद्घाटन खेलको दिन दुई लाख ८८ हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न फुटबल प्रतियोगितामा दर्शकको उपस्थिति बाक्लो रहेको थियो । खेल हेर्न स्थानीयदेखि आसपासका जिल्लाबाट दर्शकको उपस्थिति रहेको थियो ।
महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढेको अध्यक्ष थोप्राले बताउनु भयो ।
अध्यक्ष थोप्राले भन्नुभयो, ‘दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ । महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य हो । टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिनेछ ।’
कात्तिक २४ गते सम्पन्न प्रतियोगिताको क्वार्टर फाइनलका खेलहरुमा साधारणतर्फ १०० र २्०० तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो ।
त्यस्तै, सेमिफाइनलका दुई खेलमा साधारणतर्फ २ सय र ३ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ तथा फाइनलमा साधारणतर्फ ३०० र ५०० तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो ।
प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्यो । एपिएफलाई १० गोल अन्तरले हराउँदै पुलिसले १० लाख १० हजार रुपैयाँ हात पार्यो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।


