२०८२ कार्तिक २५, सोमवार , ०४:०६:३७ बजे

Sajhamanch
'

महिला क्रिकेट टोलीले भारतका ३ वटा घरेलु टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने

सोमवार, कार्तिक २५, २०८२

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले भारतमा तीन वटा घरेलु टोलीसँग मैत्रीपूर्ण टी–२० खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै महिला टोलीले आउँदो कात्तिक २७ गते बिहिवारदेखि मंसिर ३ गतेसम्म उत्तराखण्ड, बङ्गाल र राजस्थानसँग खेल्ने जनाएको छ ।

सबै खेलहरू देहरादुनको चिदरवालामा रहेको आयुष क्रिकेट एकेडेमीमा हुनेछ । तीन वटा टोलीसँग नेपालले समान दुई वटा खेल खेल्ने क्यानले जनाएको छ । नेपाली महिला टोलीले कात्तिक २७ गते राजस्थानसँग खेल्दै शुरुआत गर्नेछ ।

यस्तै कात्तिक २८ गते उत्तराखण्ड र २९ गते बङ्गालसँग खेल्नेछ । त्यसपछि पुनः मंसिर १ गते राजस्थान, २ गते उत्तराखण्ड र ३ गते बङ्गालसँग खेल्ने तालिका रहेको छ ।

यसैबीच क्यानले भारत भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीमा अश्मिना कर्माचार्यले लामो समयपछि पुनरागमन गरेकी छन् भने सीमाना केसी पहिलोपटक टोलीमा परेकी छन् ।

अलिशा यादव, मनीषा उपाध्याय, सना प्रवीण, ईश्वरी विष्ट, ममता चौधरी, बिन्दु रावलले पनि पुनरागमन गरेका छन् । नेपालले आउँदो जनवरीमा घरेलु मैदानमै आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि महिला क्रिकेट टोलीले यो भम्रण गर्न लागेको क्यानले जनाएको छ ।

सम्बन्धित खबर