२०८२ कार्तिक २५, सोमवार , ११:१४:०५ बजे

Sajhamanch
'

झापा महिला गोल्डकप : एपिएफ र पुलिस उपाधिका लागि खेल्दै

सोमवार, कार्तिक २५, २०८२

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज महिला फुटबलको महाकुम्भ आयोजना हुँदैछ । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) दिउँसो २ः३० बजेबाट सुरू हुनेछ ।

फाइनलमा दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि आमनेसामने हुँदैछन् । आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुुसार आजको खेलमा झापाको फुटबलप्रेमीहरूको ठुलो उपस्थिति रहने अपेक्षा गरिएको छ ।

यसैबीच, दुधे रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा चर्च बोइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले हरायो । त्यस्तै, सेमिफाइनलमा संकटा क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

एपिएफ फुटबल क्लबले क्वार्टर फाइनलमा सिक्किम क्लबलाई ७–० को भारी अन्तरले हरायो । सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीसँगको रोमाञ्चक भिडन्तमा एपिएफले पेनाल्टी सुटआउटमा जित हाँसिल गर्दै फाइनलमा स्थान बनाएको हो ।

आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३०० र ५०० रुपैयाँ तथा भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।

हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

सम्बन्धित खबर