
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न बैंकमा रहेको रकमलाई लगानी गर्न लागेको कोषले जनाएको छ ।
रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र ‘क’ वर्गका बैंकहरूले भोलिसम्ममा लिन सक्नेछन् । रकम लिन चाहने बैंकहरूले सञ्चालनमा आएको कम्तीमा ५ वर्ष पूरा गरेको हुनुपर्नेछ भने पछिल्लो आर्थिक वर्षहरूमा लगातार ५ वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ ।
कोषले लगानी गर्न सूचना प्रकाशित गरेको रकम लगानी गर्ने/नगर्ने अधिकार कोषमा सुरक्षित रहनेछ । मापदण्ड तथा शर्त पूरा गरेको व्यहोराको स्वघोषणा शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।
कोषका अनुसार शिलबन्दी दरभाउपत्रमा उल्लेखित वित्तीय परिसूचकहरू त्रैमासिक रूपमा प्रकाशित गरेको हुनुपर्नेछ । कुनै वित्तीय परिसूचकहरू मासिक रूपमा प्रकाशित गरेको हकमा आफ्नो आन्तरिक लेखापरीक्षकबाट अनिवार्य रूपमा प्रमाणित गराएको हुनुपर्नेछ ।


