
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे लाइटमा प्राविधिक गडबडी आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा आएको छ ।
धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर हिजो बेलुका साढे ५ बजेदेखि अवरुद्ध विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको हो ।
विमानस्थलमा आउने र जाने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान प्रभावित भएका थिए । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएको थियो ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रुले असुविधा भोगेका थिए । विमानस्थल खुलेसँगै रोकिएका उडान तालिकाअनुसार सञ्चालन हुन थालेका महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।
विमानस्थलको धावनमार्ग–किनारा सङ्केत गर्ने ‘एज–लाइट’ बिग्रिएको हो । समस्या आए पनि हिजो तीन वटा अन्तर्राष्ट्रिय उडान भारत र बङ्गलादेश ‘डाइभर्ट’ भएका थिए । सोलबाट आएको कोरियन एयर दिल्ली, कतार एयरवेज ढाका र फ्लाई दुबई लखनउ ‘डाइभर्ट’ भएका थिए ।
आन्तरिक पनि प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका थिए । त्रिभुवन विमानस्थलको धावनमार्गको चौडाइ ४५ मिटर र लम्बाइ ३३ सय ५० मिटर छ । दुवै किनारामा सेतो रङका बत्ती बल्छन् । तर, ‘सर्ट सर्किट’का कारण हिजो यी बत्ती नबलेपछि समस्या आएको थियो ।


