
शिवसताक्षी । यहाँस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
खेलको सुरुवाती मिनेटदेखि नै दुबै टिमबीच बराबरी प्रतिस्पर्धा देखिएको थियो । २४औँ मिनेटमा पुलिसले कर्नर किकबाट गोलको अवसर पाएको थियो । पूजा रानाले दिएको कर्नरमा आएको सटलाई संकटाकी गोलकिपर सुशीलाकुमारी चौधरीले उत्कृष्ट बचाउ गरेकी थिइन् ।
३०औँ मिनेटमा संकटाले उत्कृष्ट मौका गुमायो । भुटानी खेलाडी छिरिङ वाङग्देनले दिएको क्रसमा पूर्णिमा राईले डिबक्स भित्रबाट हेडर गर्न खोजे पनि सफल हुन सकिनन् ।
पहिलो हाफको इन्ज्युरी समयमा पनि संकटाले अग्रता लिने मौका पाए पनि सेनुले दिएको क्रसमा छिरिङको सट गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । यस संस्करणको प्रतियोगितामा पहिलोपटक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
७०औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रिकिकमा मिना देउबाले सटिक हेड मार्दै गोल गरिन् ।
त्यसपछि ८२औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै दोस्रो गोल गरिन् ।
खेलको अन्तिम मिनेटमा फर्वाड सम्झना लावतीले वान–भर्सेस–वानको सुनौलो मौका गुमाइन् ।
इन्ज्युरी समयको अन्त्यतिर संकटाले सान्त्वना गोलको अवसर पाए पनि सेनुको सट गोलपोस्ट नजिकैबाट बाहिरियो ।
२–० को जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
आजको खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् ।
पुलिसले अब उपाधिका लागि फाइनलमा भोलि हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ ।


