२०८२ कार्तिक २१, बिहिवार , ०४:१६:४८ बजे

Sajhamanch
'

‘ए’ डिभिजन लिग माग गर्दै एन्फा मुख्यालय बाहिर खेलाडीहरूको प्रदर्शन

बिहिवार, कार्तिक २१, २०८२

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको माग गर्दै नेपाली फुटबल खेलाडीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सातदोबाटो कम्प्लेक्स अगाडि प्रदर्शनसहित एक घण्टा धर्ना दिएका हुन् ।

प्रदर्शनमा सहभागी खेलाडीहरूले गेटमै मेडल झुन्ड्याएका छन् । उनीहरूले नेपाली फुटबलमा केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध प्लेकार्ड प्रदर्शन तथा नाराबाजीसमेत गरेका छन् ।

खेलाडीहरूले एन्फा फुटबल एशोसिएशन कि कन्सल्टेन्सी ?; विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?; नो गेम, नो फ्रेम : एन्फाज टु ब्लेम; घरेलु लिग चलाऊ : फुटबल बचाऊ; वाक्क लाग्दो एन्फा : दिक्क लाग्दो नेपाली फुटबल; फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो; लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । भर्खरै काभ्रेको धुलिखेलमा सम्पन्न साधारणसभामा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङमाथि क्लबहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन् ।

२०८२ सालमा फुटबल गतिविधिका लागि एक अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर यो रकमको विस्तृत हिसाब सार्वजनिक नहुँदा केही क्लबहरूले असन्तुष्टि जनाएका छन् ।

यसबाहेक खेलाडीहरूको तलब र सुविधाको विषयमा पनि विवाद छ । गएको सिजनमा केही क्लबले खेलाडीहरूलाई समयमै तलब नदिएको गुनासो आएको थियो ।

सम्बन्धित खबर