
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ । अधिक तरलता कायमै रहेपछि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले १७५ दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।
बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको र तत्काल कर्जा प्रवाह गर्ने अवस्था नदेखिएपछि राष्ट्र बैंकले लामो अवधिका लागि निक्षेप खिच्न थालेको हो । बैंकहरूले राष्ट्र बैंकमा राख्दै आएको रकम आठ खर्ब रुपैयाँ नाघिसकेको छ ।
राष्ट्र बैंकको विवरण अनुसार हिजोसम्ममा बैंकहरूले निक्षेप सङ्कलन उपकरणमार्फत एक खर्ब ७० अर्ब र स्थायी निक्षेप सुविधा अन्तर्गत ६ खर्ब ३९ अर्ब गरी आठ खर्ब नौ अर्ब रुपैयाँ राखेका हुन् ।
लामो समयदेखि बैंकिङ प्रणालीबाट अपेक्षित दरमा कर्जा जान सकेको छैन । अहिले बैंकिङ प्रणालीमा झन्डै १० खर्ब ९६ अर्ब रुपैयाँ लगानीयोग्य रकम अर्थात् तरलता छ ।
अर्थतन्त्र सुस्त बनेका कारण बजारमा लगानी नबढिरहेको बेला जेनजी आन्दोलनका कारण लगानीयोग्य वातावरणमा शङ्का बढ्दा बैंकमा थुप्रने रकम झनै बढ्न थालेको छ ।


