
काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा कटौती गरेको छ । राहदानी सीमित रहेको हुँदा सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन वितरण संख्या घटाएको विभागले जनाएको छ । विभागले हिजोदेखि दिनमा एक हजार राहदानी वितरण गर्ने गरी कोटा निर्धारण गरेको छ । विभागसँग अब १ लाख ७३ हजार प्रति राहदानी बाँकी छ ।
राहदानी खरिदका लागि विभागले नयाँ आपूर्तिकर्तासँग गएको साउनमा गरेको सम्झौताअनुसार फागुन दोस्रो हप्ताबाट मात्र आपूर्ति हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले राहदानीको अभाव हुन नदिन चासो राख्नुभएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएकी उहाँले हिजो मन्त्रालय र राहदानी विभागका कर्मचारीसँग यसबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले राहदानी वितरणका विषयमा जानकारी माग गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायतलाई राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिनुभएको छ ।
राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उहाँको निर्देशन छ ।


