२०८२ कार्तिक १९, मङ्गलवार , ०८:३८:०५ बजे

Sajhamanch
'

रश्मिको ह्याट्रिकसँगै एपिएफको शानदार जित

मङ्गलवार, कार्तिक १९, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो । त्यसपछि ३८औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन् ।

पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो । ४१औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन् । जससँगै पहिलो हाफ एपिएफको पक्षमा ५–० मा समाप्त भयो ।

दोस्रो हाफमा पनि एपिएफको आक्रमण रोकिएन । ७१औँ मिनेटमा सविता राना मगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन् । ८४औँ मिनेटमा अनिता केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन् ।

सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले २१औँ मिनेटमा गरेको प्रहार एपिएफकी गोलरक्षक अञ्जना रानाले नियन्त्रण गरिन् भने ८०औँ मिनेटमा वान–भर्सेस–वानको अवसर पनि सुक्रियाले गुमाइन् ।

एपिएफका प्रशिक्षक जिबेश पाण्डेले टोलीले योजनाअनुसार खेल खेलेको बताए । खेलाडीहरूले सुरुदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन गरे र योजनाअनुसारको फुटबल देखाए,” उनले भने ।

सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले भने हारलाई सिकाइको अवसरका रूपमा लिएको बताइन् । “हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गरेर फर्किनेछौँ,” उनले प्रतिक्रिया दिइन् ।

खेलकी प्लेयर अफ द म्याच रश्मि घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

भोलि हुने तेस्रो क्वार्टर फाइनलमा संकटा फुबटल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खबर