
तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–९, सोल्मा टिम्बुरे गाउँ अहिले टिम्बुरको संरक्षण, प्रवर्धन र ग्रामीण पर्यटन विकासको नयाँ केन्द्रका रूपमा परिचित बन्दै गएको छ।
पहाडको हरियाली, स्वच्छ हावा र मौलिक संस्कृति समेटिएको यस गाउँमा निर्माण गरिएको मिरिङबुङ पार्क अहिले पर्यटकहरूका लागि आकर्षणको नयाँ गन्तव्य बनेको छ।
कोशी प्रदेश सरकार अन्तर्गत लालीगुराँस नगरपालिकामार्फत विनियोजन गरिएको १० लाख रुपियाँको बजेटबाट यो पार्क निर्माण गरिएको हो।
बजेट सुनिश्चितताका लागि प्रदेश सभा सदस्य माननीय कमला दर्नालको विशेष पहल रह्यो। उक्त बजेटको उपयोग मेजर धनबहादुर तेयुङ स्मृति प्रतिष्ठान र लालीगुराँस नगरपालिका–९ को सहकार्यमा गरिएको हो।
स्थानीय भाषामा ‘मिरिङ’ भनिने टिम्बुर यस क्षेत्रको पहिचान हो। लिम्बू भाषामा ‘मिरिङ’ भन्ने शब्दले टिम्बुर जनाउँछ। यही स्थानीय वनस्पति र भाषिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले पार्कको नाम ‘मिरिङबुङ पार्क’ राखिएको हो। पार्क निर्माण अभियन्ता भगिश्वर तेयुङका अनुसार, यहाँ करिब १०० वटा टिम्बुरका बिरुवा रोपिएका छन्, जसले जैविक विविधता संरक्षणमा योगदान पुर्याउनुका साथै वातावरणीय सन्तुलनमा पनि सकारात्मक प्रभाव पारेको छ।
पार्कमा फलामको ट्रस्ट पाटी, शौचालय, धारा र फलैँचा जस्ता आवश्यक संरचना निर्माण गरिएको छ। तर, यसको मुख्य आकर्षण भनेको कङ्क्रिटका स्तम्भको सट्टा टिम्बुरका बोटहरूलाई नै स्तम्भको रूपमा प्रयोग गरिएको वातावरणमैत्री अवधारणा हो। यसले पार्कलाई प्राकृतिक सौन्दर्यका साथ मौलिक पहिचानसमेत दिएको छ।
लालीगुराँस नगरपालिका–९ का वडा सदस्य डम्बरबहादुर तेयुङका अनुसार, “मिरिङबुङ पार्क वातावरणमैत्री मात्र होइन, यहाँका ढुङ्गाहरूलाई संरक्षण गरेर मौलिक स्वरूपमा राखिएकोले पनि यो अन्य पार्कभन्दा फरक बनेको छ।”
यहाँ आउने पर्यटकहरू पार्कको हरियाली, टिम्बुरका बोटहरूको सुवास, र प्राकृतिक बनावटबाट आकर्षित हुने गर्छन्। स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिएको संरचना र लिम्बू सांस्कृतिक मौलिकताले यस पार्कलाई थप आकर्षक बनाएको छ।
लसुने–मङ्गलबारे सडकखण्डको तेजेन्द्र चोकबाट करिब दुई किलोमिटरको कृषि सडक पार गरेपछि मिरिङबुङ पार्क पुग्न सकिन्छ। सहज पहुँचका कारण यो स्थल आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि रमणीय गन्तव्यको रूपमा विकसित भइरहेको छ।
लिम्बू भाषामा ‘मिरिङ’ अर्थात् ‘टिम्बुर’ भन्ने शब्दबाट प्रेरित यो पार्कले स्थानीय भाषा, संस्कृति र पहिचानको सम्मान गरेको छ।
प्रकृति, संस्कृति र विकासलाई सँगै अघि बढाउने अवधारणामा निर्माण गरिएको मिरिङबुङ पार्क अहिले टिम्बुर संरक्षण, स्थानीय उत्पादनको ब्रान्डिङ र ग्रामीण पर्यटन प्रवर्धनको आदर्श नमुना का रूपमा स्थापित हुँदै गएको छ।


						
						
						