२०८२ कार्तिक १९, मङ्गलवार , ०४:५१:१८ बजे

Sajhamanch
'

झुम्का कारागारबाट भागेका ५७२ कैदीबन्दी अझै सम्पर्कविहीन

मङ्गलवार, कार्तिक १९, २०८२

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका(५, झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किएको भएपनि अझै ५०० भन्दा बढी कैदीबन्दी सम्पर्क बाहिर रहेका छन् ।

भदौ २४ गते राति जेनजी आन्दोलनको अव्यवस्थाबिच झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ठुलो सङ्ख्यामा पुनः कारागार फर्किएका कारगार प्रशासनले जनाएको छ ।

कारागारका प्रमुख जेलर सुवास लामिछानेका अनुसार हालसम्म एक हजार २५९ जना कैदीबन्दीले आत्मसमर्पण गरी पुनः कारागार प्रवेश गरेका छन् ।

तर, कार्तिक १८ गतेसम्म अझै पाँच सय ७२ जना फरार रहेका छन् । फरारमध्ये ४९ जना भारतीय नागरिक रहेको पुष्टि भएको छ ।

झुम्का कारागारबाट फरार रहेका ६१ भारतीय कैदीमध्ये केवल १२ जना मात्र फर्किएका छन् । आन्दोलनको बेला झुम्का कारागारमा कुल १ हजार ७९६ कैदीबन्दी रहेका थिए ।

आन्दोलनको दोस्रो दिन राति ठुलो भिड र अव्यवस्थाबिच सबै कैदीबन्दी बाहिरिएका थिए। त्यसपछि सुरक्षा निकाय र प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गर्दै आएका छन् ।

कारागार व्यवस्थापन विभागले असोज २० गतेभित्र फर्किन निर्देशन जारी गरेको थियो । सो समय सीमा समाप्त भइसकेपछि अझै नफर्किनेहरूलाई कारागार ऐन अनुसार कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले फरार कैदीबन्दीलाई नियन्त्रणमा ल्याउन प्रहरीले अभियान अघि बढाएको जानकारी दिनुभयो । फर्किन नचाहनेमाथि कानुन बमोजिम कठोर कदम चालिने जानकारी दिनुभयो ।

यसअघि पनि कारागार प्रशासनले फरारहरूको विवरण प्रहरीमा पठाई सीमाक्षेत्र र मुख्य सडकमुख्य नाकाहरूमा विशेष निगरानी बढाएको जनाएको छ ।

मङ्गलवार, कार्तिक १९, २०८२ | अपराध, मिडियाबाट साभार, समाज

सम्बन्धित खबर